प्रकाशित मिति : २०२०-०२-१० (अद्यावधिक मिति : २०२३-०५-१२)

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना Global Agriculture and Food Security Program (GAFSP) को आर्थिक सहयोगमा संचालित आयोजना हो।यस आयोजना संचालनको लागि  नेपाल सरकार र आई.डी.ए. (International Development Association) बिच वि.सं. २०७५ कार्तिक २८ गते (14 November 2018) अनुदान सम्झौता भएको थियो। यस आयोजनाको कुल अवधी पाँच बर्षको रहेको छ भने आयोजनाको कार्यक्षेत्रको रुपमा ८ वटा जिल्लाहरु (गोरखा, धादिङ्ग, सिन्धुपाल्चोक, दोलखा, धनुषा, महोत्तरी, सिराहा, सप्‍तरी) को १६  गाँउपालिका रहेका छन्। यस आयोजनाको संचालन नेपाल सरकार, कृषि तथा पशुपंछी विकास मन्त्रालयले गर्नेछ भने सुपरिवेक्षण कार्य विश्‍व वैंक (World Bank) बाट हुनेछ साथै आयोजनाका कृयाकलापहरु संचालनमा प्राविधिक सहयोग (Technical Assistance) संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (FAO) ले गर्नेछ।

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रलाई मेरुदण्डको रुपमा लिईन्छ।खाद्य तथा पोषण सुरक्षा आफैमा बहुआयामिक विषय हुनुका साथै यसको सुनिश्चितताको लागि कृषि क्षेत्रको अहम् भूमिका रहेको हुन्छ।नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ।नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताको लागि विभिन्‍न राष्ट्रिय नीति तथा कार्यक्रमहरु तर्जुमा गरि कार्यान्वयन गर्नुका साथै विभिन्‍न अन्तराष्ट्रिय सम्झौता तथा सहमतिहरुको पक्ष राष्ट्रको रुपमा कार्य गरिरहेको छ।नेपाल दिगो विकासका लक्षहरु (Sustainable Development Goals) को पक्ष राष्ट्र हो।नेपाल सरकारको दिर्घकालीन सोच २१००पन्धौ योजना तथा कृषि विकास रणनीति लगायतका विभिन्‍न नीति तथा योजनाहरुमा खाद्य तथा पोषण सुरक्षाले विशेष महत्व पाएका छन्। कृषि क्षेत्रको समग्र विकासको लागि नेपाल सरकारले कार्यन्वयनमा ल्याएको कृषि विकास रणनिति (२०१५-३५) का चारवटा Flagship कार्यक्रमहरु मध्‍ये खाद्य तथा पोषण सुरक्षामा सुधार ” कार्यक्रमले तय गरेको अत्यन्तै पिछिडिएका वर्गहरुको खाद्य तथा पोषण सुरक्षा सुधार सम्बन्धि उद्देश्य हासिल गर्न र कृषि विकास रणनितिको परिकल्पनामा रहेका समावेशी, जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षा जस्ता सम्भागका सूचकहरुको लक्ष्‍य प्राप्‍त गर्न; दिगो विकासका लक्ष्यहरु प्राप्‍त गर्न नेपाल सरकारले गरेको प्रतिबद्धता अन्तर्गतका लक्ष्यहरु गरिबिको अन्त्य, शुन्य भोकमरी, लैंगिक समानता र जलवायु सम्बन्धि कारवाही हासिल गर्न साथै नेपाल सरकारको पन्ध्रौं योजनामा उल्लेखित सूचकहरु जलवायु परिवर्तन अनुकुलशिलता, ५ वर्ष मुनिका कम तौल भएका बालबालिका, बाल मृत्युदर, मातृ मृत्युदर, बहुआयामिक गरिबीमा रहेको जनसंख्या, निरिपेक्ष गरिबि र कृषिका सूचकहरुको लक्ष्य प्राप्‍तिका लागि यस आयोजनाले प्रतक्ष्य रुपमा सहयोग गर्दछ ।